रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर हरेक क्षेत्रमा अघि बढ्न तयार रहेको स्पष्ट पारेका छन् ।

नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशले ६३ औं इञ्जिनियर्स दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजना गरेको ‘लुम्बिनी प्रदेशको आत्मनिर्भर पूर्वाधार विकास, अवसर र चुनौती’ विषयक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पूर्वाधार विकासमा पब्लिक–प्राइभेट पार्टनरशिप मोडेलमा जान सकिने कानुनी आधारहरू तय भइसकेको बताए ।

“लुम्बिनी प्रदेश सरकारले पूर्वाधार प्राधिकरण ऐन बनाएको छ, जसमा स्पष्ट रूपमा निजी क्षेत्रसँग सहकार्य गर्ने आधार राखिएको छ । प्रदेश सरकार निजी क्षेत्रको प्रचुर विकासमा सहजीकरणको वातावरण निर्माण गर्न प्रतिबद्ध छ । दोस्रो आवधिक योजनाका लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य अनिवार्य छ”, उनले भने ।

प्रदेश सरकारको लगानी सन्तुलित रूपमा अघि बढिरहेको पनि मुख्यमन्त्री आचार्यले बताए। उनले चालू खर्च घटाउन प्रदेश सरकार अग्रस्थानमा रहेको उल्लेख गर्दै भने, “हामी चालू खर्च घटाउनेमा पहिलो नम्बरमा छौं, र त्यो प्रमाणित गरिसकेका छौं । राजस्व वृद्धिका क्षेत्रमा समेत प्रदेश सरकार सफल भएको छ । डेढ अर्ब रुपैयाँ राजस्व वृद्धि सम्भव भएको छ, जसको श्रेय हामीले थालेको सुशासनको अभियानलाइ जान्छ ।”

इञ्जिनियर समुदायले विज्ञान, प्रविधि र पूर्वाधार विकासमार्फत राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै मुख्यमन्त्री आचार्यले पेशागत अनुशासन, इमानदारीता, निष्पक्षता, जवाफदेहिता र मर्यादित आचरण इञ्जिनियरहरूको मौलिक विशेषता भएको र ती मूल्य र सिद्धान्तअनुसार काम गरेर जनताको विश्वास जित्नुपर्नेमा जोड दिए ।