उदय बीसी
दाङ । दिउँसोको २ बजेको छ । बाहिर उखरमाउलो गर्मी छ । शक्तिराम डाँगी आफ्नै घरको बरन्डामुनी ‘रातकी रानी’ सँग व्यस्त छन् । ग्राहकको अडर अनुसार ‘ड्रागन फ्रुट’ तौलेर पोका पारिरहेका छन् । उनको काममा जिवनसंगीनी राम कुमारी डाँगीले साथ दिइरहेकी छन् ।

‘ड्रागन फ्रुट’ विक्री गर्नका लागि शक्तिरामलाई बजार आउनु परेको छैन । घरमै ग्राहकहरू लिनका लागि पुग्छन् । काममा व्यस्त शक्तिराम घरमा ‘ड्रागन फ्रुट’ लिना आउने ग्राहकलाई चखाउँछन्, अनी केहीबेर गफिन्छन् पनि ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ हापुर औलडाँडाको आफ्नै बारीमा शक्तिरामले ‘ड्रागन फ्रुट’ को व्यवसायिक खेती गरेका छन् । करिव दुई वर्ष पहिले पश्चिम बङ्गालबाट रातो प्रजातिको ड्रागनका एक हजार दुई सय विरुवा ल्याएर रोपेका हुन् । रोपेको करिव १८ महिनापछि ती विरुवाले फल दिएका छन् ।

यो वर्षको पहिलो लटमै डाँगीले चार/पाँच क्वीन्टल ड्रागन विक्री गरेका छन् । आफू कृषकको छोरा भएकाले आफ्नै माटोमा केही गरौ भन्ने विचारले यो खेती शुरु गरेको डाँगी बताउँछन् । ‘कृषि हाम्रो पेशा नै हो समय र माटो अनुसार केही गरौ भनेर यो खेती गरेको हुँ’, उनले भने, ‘पहिले लगाउँदा होला त ? भन्ने थियो तर अहिले भयो, राम्रै उत्पादन दिइरहेको छ ।’

पहिलो चरणमा डाँगीले झण्डै आठ लाख लगानी गरेर सात/आठ कट्ठामा ड्रागनको व्यवसायिक खेती गरेका हुन् । बैशाख, जेठ महिनामा फुलेको ड्रागन अहिले विक्रीको अन्तिम चरणमा पुगेको छ ।

घरबाटै प्रतिकिलो ३५० रुपैयाँको दरले विक्री भइरहेको छ । कहिलेकाहीँ ग्राहकहरूका अडरमा घोराही बजारदेखि काठमाडौंसम्म पनि जाने गरेको डाँगी बताउँछन् ।

मावन शरीरका लागि पौष्टिक र पूर्णरुपमा अर्गानिक मानिने ‘ड्रागन फ्रुट’ १० डिग्री सेन्टिग्रेडभन्दा कम र ३५ डिग्री बढी तापक्रममा राम्रो मानिन्छ । दाङमा पनि यो प्रकारको हावापानी पाइने भएकाले ‘ड्रागन फ्रुट’ को व्यवसायिक खेती उपयुक्त देखिन्छ । यो फूल रातिमा मात्रै फुल्ने भएकाले यसलाई ‘रातकी रानी’ पनि भनिन्छ ।

शक्तिराम घोराही उपमहानगरपालिका वडा नं. १४ का पूर्ववडाध्यक्ष हुन् । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि भएको २०७४ को पहिलो स्थानीय तहको निर्वाचनबाट उनी घोराही १४ को वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

कृषिसँगै उनी राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । शक्तिराम अहिले पनि नेकपा माओवादी केन्द्रको घोराही उपमहानगरपालिका नगर कमिटीको उपाध्यक्ष छन् ।