काठमाडौं । मध्यबर्खामै मधेशमा चरम खडेरी देखापरेपछि सरकारले बुधबार आठवटै जिल्लालाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । देशभर पर्याप्त पानी नपरेका वेला तराई–मधेशमा अझ कम पानी परेकाले रोपाइँका लागि मात्रै होइन, पिउनेपानीकै अभाव निम्तिएको छ ।
पानी नपर्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– २ का किसान रामकुमार मण्डलले अझै धान रोपाइँ गर्न पाएका छैनन् । ‘नहरको सिँचाइ छैन, अकासे पानीको भरमा धान लगाउँदै आएका छौँ । पानी पर्छ होला भनेर कुर्दाकुर्दै साउनको पहिलो साता कटिसक्यो, डेढ बिघा खेत बाँझै छ,’ उनले सुनाए ।
महोत्तरीको जलेश्वर नरपालिका– ३ मलिवाराका तेजनारायण मण्डलले पनि खेती गर्दै आएको एक बिघा खेत बाँझै रहेको बताए । ‘साहुसँग बटैया ९लिज०मा लिएर खेती गरिरहेको छु । पानी नपर्दा रोपाइँ गर्न सकेको छैन । केही खेतमा दमकलले पानी हालेर धान रोपे, बाँकी एक बिघाजति अझै बाँझै छ ।’
कतिपय किसानले बोरिङको पानीले रोपाइँ गरेको धानखेतमा पनि धाँजा फाटेको छ । पर्सा पोखरियाका किसान धर्मेन्द्र चौरसियाले भने, ‘धान सुक्न थालेको छ, आकासेपानी परेको भए सजिलो हुन्छ । बोरिङबाट सिँचाइ गरे केही दिनमै सुकिहाल्छ,’ उनले भने ।
मधेशमा हिउँद र गर्मीयाममा पर्याप्त पानी नपरेका वेला बर्खा सुक्खा बनेपछि संकट निम्तिएको हो । अनावृष्टिका कारण भूमिगत जलस्रोतको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुक्दा खानेपानीको चरम अभाव छ नयाँ पत्रिकामा खबर छ। नदीखोलामा पनि पर्याप्त पानी नहुँदा नहर भएका ठाउँमा पनि सिँचाइ हुन सकेको छैन ।
बाँकेमा पनि अधिकांश खेत बाँझो छ भने रोपेको खेतमा पनि धाँजा फाटेको छ । डुडुवा गाउँपालिका– ४ का शालिकराम यादवले अझै धान रोप्न नसकेको गुनासो गरे । ‘धान रोप्न अझै बाँकी छ । पानी नपाउँदा रोपेको धान खेतमा धाँजा परेको छ । खेतको ब्याड सुक्दै गएको छ,’ उनले भने । डुडुवा– ४ कै मुन्डापुर्वाका पुत्तन बागवानको धान खेतमा पनि धाँजा परेको छ । रोपेको धान खेतमा धाँजा परेपछि उनले आधा खेतमा रोपाइँ नै गर्न पाएका छैनन् ।











