रुकुम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका १४ पिपलचौरबाट भेरी नदीमा खसेको टिपरको अगाडिको भाग फेला परेको छ । नदीमा खसेको यति बिल्डर्स प्रालिको टिपर घटनास्थलभन्दा करिब ४०० मिटर तल नदीमै फेला परेको हो । तर टिपरसँगै खसेका तीन जनाको भने अवस्था अज्ञात छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार उनीहरु नदीमै बेपत्ता भएको अनुमान छ । बेपत्ताको खोजी कार्य जारी छ । बेपत्ता हुनेमा टिपर चालक दाङका ३५ वर्षीय मनिराम चौधरी, यति बिल्डर्सका जेसिबी चालक रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ३ का धनवीर बिक र हेल्पर रुकुमपूर्वको सिस्ने गाउँपालिका ८ का हरि बिक रहेको प्रहरीले जनाएको छ ।
आठबिसकोट नगरपालिका ११ चिसापानीबाट रिम्नतर्फ आँउँदै गरेको रा १ क १५०१ नम्बरको टिपर हिजो बुधबार भेरी नदीमा खसेको थियो । प्रहरी, यति बिल्डर्सको कर्मचारी टोली, स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।











