काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी नेतृत्व लिन सक्ने संकेत दिँदै सक्रिय राजनीतिमा फर्किने घोषणा गरेको एक साता नबित्दै नेकपा एमाले संस्थापन पक्षले पार्टीभित्र नेतृत्वको बहसमा रोक लगाएको छ ।

महासचिव शंकर पोखरेलले बुधबार प्रदेश कमिटी र जिल्ला नेतृत्वको बैठकमार्फत पार्टीमा गुट सिर्जना गर्ने प्रयास भइरहेको भन्दै नेतृत्वसम्बन्धी बहसमाथि रोक लगाउन निर्देशन दिएका हुन् ।

महासचिव पोखरेलको निर्देशन अध्यक्ष केपी ओलीको विकल्पमा भण्डारीलाई नेतृत्वमा ल्याउन अग्रसर पार्टी पदाधिकारीदेखि केन्द्रीय नेता, प्रदेश, जिल्ला र जनसंगठनका नेता–कार्यकर्ता तथा जनप्रतिनिधिहरूप्रति लक्षित रहेको छ ।

बुधवार कार्यालय च्यासलबाट कोशी, मधेश प्रदेश र बागमती प्रदेशका इन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष तथा अन्तर्गत जिल्ला कमिटीका अध्यक्षहरूसँगको बैठकलाई भर्चुअल सम्बोधन गर्दै पोखरेलले पार्टी राष्ट्रिय महाधिवेशनको मिति नै तय नभएको अवस्थामा नेतृत्वको बहसको सट्टा विधि र विधानबारे बहस गर्न निर्देशन दिएका छन् ।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने भएपछि एमालेमा ओली र भण्डारी गुटमा नेता कार्यकर्ताहरु विभाजन भइसकेका छन् । जिल्ला देखि प्रदेश, प्रदेश देखि केन्द्र सम्मै ओली र भण्डारीमा विभाजन आएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गर्दै बुधबारबाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा–सुविधा परित्याग समेत गरेकी छिन् ।