दाङ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले साइबर कानुनको आडमा पत्रकारिता क्षेत्रलाई तर्साउन खोज्नु आपत्तिजनक भएको बताएका छन् ।

नेपाल प्रेस युनियन रूपन्देहीले बुटवलमा आयोजना गरेको विकास पत्रकारिता तालिमको उद्घाटन समारोहलाई सम्वोधन गर्दै असम्बन्धित कानुनको आडमा पत्रकारिता क्षेत्रलाई तर्साउन खोज्नु खेदजनक भएको बताए । मुलुकको लोकतन्त्र, समृद्धि र सम्वद्र्धनमाथि प्रहार हुँदै गर्दा यसलाई रोक्न सक्ने क्षेत्र पत्रकारिता क्षेत्र भएकाले सभ्य र सजक भएर गम्भीर रुपमा मनन गरेर अघि बढ्नुपर्ने बताए ।

‘सञ्चार माध्यममा आएका सामग्रीमाथि चित्त नबुझे प्रेस काउन्सिलले हेर्ने हो, प्रहरीले हैन,’ निवर्तमान अध्यक्ष पोखरेलले भने, ‘साइबर कानुन पत्रकारितासँग सम्बन्धित कानुन हैन । असम्बन्धित कानुनको आडमा पत्रकारिता क्षेत्रलाई तर्साउन खोज्नु खेदजनक ।’ उनले कुनै पनि संचार माध्यममा आएको सामग्रीको हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिलको भएको भन्दै पुसले सामग्री हेर्न थाल्ने हो भने कुनै पत्रकार बाँकी नरहने भएकाले साइवर ऐनमा टेकेर पत्रकारलाई तर्साउन खेदजनक भएको बताए ।

साइवर ऐन फरक प्रयोजनका लागि बनेको कानुनमा टेकेर पत्रकारलाई तर्साउने, थुन्ने र उन्मुक्त भएर पत्रकारिता गर्न नदिने खेल भएको बताए । उनले साइवर काुननको धारा ४७ खारेज गर्नुपर्ने समेत बताए । सबै मुद्दाहरू सिधै अदालत प्रवेश नगर्ने भन्दै उनले अर्धन्यायिक र नियामक निकायको भूमिकाको सम्मान हुनुपर्नेमा जोड दिए ।

‘अदालत प्रक्रियाका नाममा प्राविधिक नबनोस्,’ पोख्रेलले भने, ‘न्यायको संरक्षणका साथ थिति बसाल्न योगदान दिन सक्ने बनोस् ।’ उनले लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली प्रेस अझ सशक्त भएर उभिन आवश्यक भएको पनि बताए । ‘सबै राज्य संरचनालाई कमजोर र बदनाम गर्दै व्यवस्था कमजोर बनाइँदै छ,’ पोखरेलले भने, ‘लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली प्रेस अझ शसक्त भएर उभिन आवश्यक भएको छ ।’