दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बुधबार आयोजित प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने प्रक्षेपण गरिएकाले उच्च सतर्कता आवश्यक भएको बताए ।
“मनसुनजन्य विपदबाट लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने आँकलन गरिएको छ । त्यसैले क्षति न्यूनीकरणमा ध्यान केन्द्रित गरी उच्च सतर्कताका साथ खटिन आवश्यक छ”, उनले भने, “समुदायको परिचालनमार्फत मात्रै विपदबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ । यस कार्यमा स्थानीय सरकार, सुरक्षा निकाय र स्वयंसेवक युवाहरुबीच समन्वय हुनुपर्छ ।”
मुख्यमन्त्री आचार्यले विपद्पूर्वको अवस्थाबाट नै प्रभावकारी सूचना प्रवाह, सुरक्षित स्थानको व्यवस्था, नागरिक शिक्षा तथा सचेतनामूलक अभियान सञ्चालन, खोज तथा उद्धार कार्य प्रभावकारी बनाउनुपर्ने, जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गर्नुपर्ने तथा विपद्पछिको राहत, पुनःस्थापन, खाद्यान्न उपलब्धता, शुद्ध खानेपानी र स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने निर्देशन दिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, ०८२’ अनुसार यस वर्ष लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । उक्त कार्ययोजनाका अनुसार लुम्बिनीमा करिब १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ । सोही अनुसार प्रदेश तहमा सतर्कता र तयारीका काम अघि बढाइएको छ ।
