इन्द्रेणी संवाददाता
दाङ । लुम्बिनी प्रदेशमा पछिल्ला दश वर्षमा मनसुनजन्य विपद्का १ हजार ६१८ वटा घटना घटेका छन् । ती घटनामा ४५९ जनाको मृत्यु, ६१९ जना घाइते, ३२ जना बेपत्ता र ८ हजार ३१५ परिवार प्रभावित भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् फोकल पर्सन गंगाधर पाण्डेले जानकारी दिएका छन् ।
२०८१ मा मात्रै २९२ विपद्का घटना भएका छन् । मानवीय क्षतिको हिसाबले सबैभन्दा धेरै २०७३ सालमा १०७ जनाको ज्यान गएको थियो । गत वर्ष लुम्बिनी प्रदेशमा बाढी, पहिरो, भारी वर्षाका कारण ५३ जनाको मृत्यु, ७० जना घाइते, ९ जना बेपत्ता र १०९ परिवार प्रभावित भएका थिए । करिब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा आयोजित प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा यस वर्ष मनसुनजन्य विपदबाट लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने आँकलन गरिएकाले त्यसको पूर्वतयारी र प्रतिकार्यका लागि उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन मुख्यमन्त्री चेतनारायण आचार्यले मातहतका निकायलाई निर्देशन समेत दिएका छन् ।
