काठमाडौं । भिजिट भिसामार्फत भएको मानव तस्करीको घटनालाई लिएर सिंगो गृह मन्त्रालाय नै अमेरिकाको कालोसूचीमा पर्न सक्ने जोखिम देखिएको छ । एकातर्फ राज्यकै मिलेमतोमा मानव तस्करी भएको र अर्कोतर्फ अध्यागमनमा हुने सेटिङले आतंकवादीलाई समेत प्रश्रय दिन सक्ने भन्दै उनीहरूले चासो र चिन्ता व्यक्त गरेका छन् । यसकारण पनि कालोसूचीको जोखिम देखिएको अख्तियारका अधिकारीहरू बताउँछन् ।
यस घटनालाई गम्भीर रूपमा लिँदै २४ घण्टा नबित्दै विमानस्थलका निवर्तमान अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईको भिसा रद्द गरेको अमेरिकाले विस्तृत अनुसन्धान नभएर सुधार हुन नसके गृह मन्त्रालयलाई नै कालोसूचीमा राख्न सक्ने अख्तियारका अधिकारीहरू बताउँछन् । हाल अख्तियारले भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । उनले भिजिट भिसाको सेटिङ चलाउने मात्र नभई अध्यागमनको कालोसूचीमा रहेका व्यक्तिहरूलाई समेत मिलेमतोमा प्रस्थान तथा आगमन अनुमति दिने गरेको प्रारम्भिक छानबिनले देखाएको छ । अध्यागमनमा हुने सेटिङले सुरक्षामा जोखिम देखाएको भन्दै उनीहरू ९अमेरिका०ले यस प्रकरणमा चासो राखेको प्रहरी तथा अख्तियार स्रोतले बतायो ।
स्रोतका अनुसार काठमाडौंस्थित अमेरिकी दूतावासले घटनाको २४ घण्टाभित्रै कुनै निकायले पत्राचार गरेको आधारमा नभई, घटनाको गम्भीरताका आधारमा आफैँ ‘नोटिस’ लिएर सहसचिव भट्टराई र उनकी श्रीमतीको अमेरिकाको भिसा रद्द गरेको थियो । ‘गृह मन्त्रालयको सहसचिवजस्तो उच्च पदमा रहेका व्यक्ति नै प्रत्यक्ष रूपमा मानवतस्करीमा संलग्न भएको कुरा नोटिसमा लिएर उनीहरूले भिसा रद्द गरेका रहेछन्,’ अख्तियारका एक अधिकारीले भने, ‘यो विषयलाई अमेरिकालगायत अन्य केही देशले कसरी अनुसन्धान हुन्छ भनेर गम्भीरताका साथ लिएका छन् ।’ अमेरिकाले यसअघि प्रहरीका विभिन्न कार्यालयलाई पनि मानव अधिकारसम्बन्धि विषयमा कालोसूचीमा राखी ती कार्यालयका कार्यरत कर्मचारीलाई भिसा नै नदिने गरेको छ । नयाँ पत्रिकाबाट











