काठमाडौं । आज कोशी र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र सुदूरपश्चिम प्रदेशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।