इन्द्रेणी संवाददाता
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य मन्त्रालयको बजेट सिलिङबाट थप ७० करोड रुपैयाँ पाएको छ। चालु आर्थिक वर्ष २०८०/८१ मा ३० करोड रुपैयाँ विनियोजन गरिएकोमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि थप ७० करोड विनियोजन भएपछि प्रतिष्ठानको बजेट दोब्बर भएको हो।
यो बजेटले प्रतिष्ठान अन्तर्गत सञ्चालनमा ल्याउन लागिएको ४०० सैयाको अस्पतालका लागि आवश्यक पूर्वाधार निर्माण र तयारीमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।
यस उपलब्धिप्रति पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा दाङ क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य रेखा शर्माले स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिवसहित सम्पूर्ण मन्त्रालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको छ। साथै, उहाँले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बधाई दिँदै यसले दाङ र सिंगो मध्यक्षेत्रको स्वास्थ्य सेवा क्षेत्रमा नयाँ युगको थालनी गर्ने विश्वास व्यक्त गर्नुभयो।
सांसद शर्माले स्वास्थ्य क्षेत्रमा दाङको उपस्थितिलाई थप मजबुत बनाउने दिशामा बजेट विनियोजन महत्वपूर्ण कदम भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
