काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसाको आवरणमा मानव तस्करी गर्ने मात्रै होइन, तस्करीमा संलग्न ‘मोस्ट वान्टेड’लाई मिलेमतोमा तेस्रो मुलुक उडाउने काम पनि भएको छ । करिब दुई महिनाअघि ९४ किलो सुन तस्करी अभियोगमा भारतीय प्रहरीले खोजी गरिरहेका व्यक्तिलाई यसरी उडाइएको थियो । तर, ‘सिस्टममै डिफल्ट’ आएको वेला अपराधी उम्किन सफल भएको भन्दै सामसुम पारिएको थियो ।

भारतीय दूतावासको सिफारिसमा नेपालले पनि कालोसूचीमा समावेश गरेका ती सुन तस्करलाई अध्यागमन कार्यालयका तत्कालीन ड्युटी अफिसर कमलराज उपाध्यायसहितको टोलीले यात्रा अनुमति दिएको थियो । ‘९४ किलो सुन तस्करीमा संलग्न एक भारतीय नागरिकलाई हामीले पनि कालोसूचीमा राखेका थियौँ । तर, उनले हाम्रै अध्यागमन प्रणाली प्रयोग गरेर तेस्रो मुलुक यात्रा गरेका रहेछन् । त्यसवेला ड्युटी अफिसर उपाध्याय थिए,’ अध्यागमन स्रोतले भन्यो ।

उपाध्याय भिजिट भिसा प्रकरणमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका अध्यागमनका तत्कालीन प्रमुख तीर्थराज भट्टराईको ‘कोर टिम’का सदस्य हुन् । गृहमन्त्री रमेश लेखकले करिब साढे सात महिनाअघि उनलाई रोजेरै अध्यागमनमा पठाएका थिए । स्रोतका अनुसार भट्टराईको ‘कोर टिम’मा त्यतिवेला अधिकृतहरू उपाध्यायसहित यज्ञराज अर्याल, दीपक पाण्डे, प्रभा अर्याल, भीष्मराज अर्याल र सरोज खनाललगायत थिए ।

यो घटनापछि भारतस्थित नेपाली दूतावासले कडा आपत्ति जनाएको थियो । त्यसपछि अध्यागमन विभागले भट्टराईसँग स्पष्टीकरण माग्नुका साथै तीन सदस्यीय छानबिन समिति पनि बनाएको थियो । ‘सिस्टमले काम नगर्दा कालोसूचीमा रहेको पासपोर्टलाई पनि हरियो बत्ती देखाउँदा मोस्ट वान्टेड छिर्न सफल भएको’ जवाफ दिएर भट्टराई त्यतिवेला उम्किएका थिए । नयाँ पत्रिकाबाट