काठमाडौं । आज देशका पहाडी भू–भागमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागका थोरै ठाउँहरुमा र बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावनासमेत रहेको छ । काठमाडौं उपत्यकाका केही ठाउँहरुमा आज बिहान छिटपुट पानी परेको छ भने अहिले पनि आकाशमा बादल लागेको छ ।
त्यसैगरी, आज राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ।
अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।











