काठमाडौं । गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसामा विदेश पठाउँदै विमानस्थलमा दैनिक ५० लाखसम्म असुली हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानेर कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिई उनीहरूका कम्प्युटर, मोबाइललगायत ‘डिभाइस’ जफत गरेको छ । गृहमन्त्री रमेश लेखकले रोजेरै भट्टराईलाई अध्यागमनमा पठाएका थिए ।

भिजिट भिसामा खाडी देश जानेसँग अध्यागमनमा ५० हजारसम्म र युरोपियन देश जानेसँग तीन लाख रुपैयाँसम्म असुली हुने गरेको स्रोतले जनाएको छ । यसरी सेटिङमा दैनिक औसतमा सयजनालाई अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिने गरेको छ । जसअनुुसार दिनमै ५० लाखसम्म असुली हुने गरेको र त्यो पैसा विमानस्थलका कर्मचारीदेखि गृह मन्त्रालयको नेतृत्वकर्ता मन्त्री लेखकसम्म पुग्ने गरेको स्रोत बताउँछ ।

भिजिट भिसामा विदेश जानेसँग संगठित रूपमै असुली बढेको सूचनाका आधारमा अख्तियारले ‘अन्डर कभर अपरेसन’ चलाएर सेटिङको प्रमाण संकलन गरेको थियो । सोही आधारमा बुधबार छापा हानेर अध्यागमन प्रमुख भट्टराईलगायतलाई नियन्त्रणमा लिइएको हो । भट्टराईले चलाउने कम्प्युटर, कर्मचारी र तीन एजेन्टका मोबाइलसमेत जफत गरी अनुसन्धान थालिएको छ । नियन्त्रणमा लिइएका चारैजनालाई सोधपुछ गरेर हाजिर जमानीमा कागज गराएर बुधबारै छाडिएको छ ।

अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि मंगलबार साँझ मात्रै गृहमन्त्री लेखककै निर्देशनमा हतार–हतार भट्टराईलाई अध्यागमनबाट सरुवा गरेर मन्त्रालयमा ल्याएको थियो । उनको ठाउँमा अर्का सहसचिव विष्णुप्रसाद कोइरालालाई पठाएको थियो । सरुवा भए पनि भट्टराईले रमाना लिइसकेका थिएनन् । अख्तियार टोलीले उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । भट्टराई गत २३ असोजमा विमानस्थलस्थित अध्यागमन कार्यालयमा हाजिर भएका थिए ।

स्रोतका अनुसार भिजिट भिसाको सेटिङमा ट्राभल एजेन्सीहरूसमेत जोडिएका छन् । ‘डिभाइसहरू नियन्त्रणमा लिइएका छन्,’ स्रोत भन्छ,’ यसबाट धेरै कुरा खुल्दै जाला ।’ अध्यागमनको यस्तो सेटिङको सञ्जाल गृह मन्त्रालयसम्म देखिएको स्रोत बताउँछ ।

अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले विस्तृत अनुसन्धान भइरहेको बताए । ‘कर्मचारी र एजेन्टको बरामद मोबाइलबाट तस्करीको नेटवर्क खुल्ने हाम्रो आशा छ,’ अख्तियारका एक अधिकारीले भने । एजेन्ट र कर्मचारीबिच हुने गरेका भेटघाटमाथि निरन्तर निगरानी गरेर बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

भट्टराईअघि विमानस्थल अध्यागमनको नेतृत्वमा सहसचिव सुरेश पन्थी थिए । उनीमार्फत सेटिङ नचल्ने भएपछि गृहमन्त्री लेखकले चार महिना नपुग्दै हटाएर भट्टराईलाई विमानस्थल अध्यागमनमा पठाएका थिए । उनी विवादास्पद पृष्ठभूमिका कर्मचारी हुन् । १० वर्षअघि काठमाडौंको स्थानीय विकास अधिकारी छँदा त्रिपाल खरिदमा अनियमितता गरेको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । पछि सफाइ पाएका उनी सेवामा जोडिएपछि पनि शक्तिकेन्द्रसँग निकट भई आकर्षक पोस्टिङमा खटिँदै आएका थिए ।

स्रोतका अनुसार भट्टराईले अध्यागमनमा कोर टिम बनाएर मानव तस्करीको सञ्जाल चलाएका थिए । उनको कोर टिममा अधिकृतहरू यज्ञराज अर्याल, दीपक पाण्डे, प्रभा अर्याल, भीष्मराज अर्याल, सरोज खनाल, कमलराज उपाध्यायलगायत रहेको स्रोतको भनाइ छ ।

भिजिट भिसाको सेटिङमा मनग्य आम्दानी हुने भएपछि विमानस्थल अध्यागमनमा जान खासगरी अधिकृत कर्मचारीको तँछाडमछाड हुने गरेको छ । एक अधिकृतका अनुसार त्यहाँ सरुवा भएर जान पाँच–सात लाखसम्म बुझाउनुपर्छ । कतिपय अधिकृतले वर्षमै करोडसम्म कमाउने गरेका छन् । यही आम्दानीका कारण कतिपय अधिकृतहरू चौथोपटकसम्म सरुवा मिलाएर गएका हुन् । सोही कारण अध्यागमनमा दरबन्दीभन्दा धेरै कर्मचारी छन् । अधिकृतको दरबन्दी १२१ रहेकामा १४० कार्यरत छन् । त्यस्तै, नासुको नौ दरबन्दीमा ३० जना कार्यरत छन् । धेरैजसो नासु कार्यालयमा भन्दा ट्राभल एजेन्सीका सञ्चालकसँग रेस्टुरेन्टमा बस्ने गरेको स्रोत बताउँछ । सेटिङ मिलाउन कर्मचारीहरूले गोप्य मोबाइलसमेत बोक्दै आएका थिए । तिनै मोबाइलमा एजेन्टहरूले सेटिङमा पठाउनुपर्ने व्यक्तिको सूची पठाउँथे । नयाँ पत्रिकाबाट