दाङ। नागरिक समाज दाङले नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा विगत पाँच महिनादेखि गरिएको तालाबन्दी खुलायन पहल गर्ने भएको छ । त्यसका लागि तालाबन्दी गर्नुको कारण उत्पन्न समस्याको निकासका लागि घोराहीमा जेठ ११ गते दिउँसो सर्वदलीय, सर्वपक्षीय सरोकारवालासँगको सहभागीतामा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

समाजका सचिव नारायणप्रसाद श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको नियमित बैठकले विश्वविद्यालयमा गत पुस महिनायता गरिएको तालाबन्दीका कारण प्राज्ञिक, प्रशासनिक, आर्थिकलगायत नियमित गतिविधि अवरुद्ध हुँदा चौतर्फी रुपमा असहजता सिर्जना भएको भन्दै समस्याको निकाससहित ताला खोल्ने वातावरण बनाउन नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा जेठ ११ गते अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।

नागरिक समाज दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम गर्न समाजका निवर्तमान अध्यक्ष केबी मसाललाई कार्यपत्र प्रस्तुतिका लागि जिम्मेवारी तोकिएको छ । पूर्व अध्यक्ष चन्द्रराज पन्तले विषय र उद्देश्यमाथि प्रकाश पार्नु हुनेछ भने कार्यक्रममा सहभागीबाट आएका सुझाव र टिप्पणी टिपोटका लागि लक्ष्मी आचार्य र नारायण विवशलाई जिम्मेवारी प्रदान गरिएको छ । निर्णयको मस्यौदा तयार गर्ने जिम्मेवारी हरिप्रसाद पाण्डेय र पद्मप्रसाद शर्मालाई दिइएको छ भने उक्त कार्यक्रमको सहजीकरण सुशील गौतम र अनिता पोख्रेलले गर्ने निर्णय भएको नागरिक समाजका सचिव श्रेष्ठले जानकारी दिएका छन् ।

यसैगरी, बर्खेबाली लगाउने मौसम नजिकिँदै गएको हुँदा खेतीपातीका लागि चाहिने रासायनिक मल, उन्नत बीउबिजन, किटनाषक औषधी, कृषि औजार तथा उपकरणलगायत कृषि उत्पादनका लागि आवश्यक सामग्री अभाव नहुने गरी किसानलाई सर्वसुलभ रुपमा आपूर्तिको व्यवस्था मिलाउन पनि नागरिक समाजले सरोकार कार्यालय तथा निकायको ध्यानाकर्षण गराएको छ ।