लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश दिइएको बताएका छन् । २५६९ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आजको दिनले शान्तिको सन्देश विश्व सामु फैलाउन र गौतम बुद्धले दिएका सन्देशलाई प्रचार–प्रसार गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे ।

“जनताले मान्दै आएको गौतम बुद्धको दर्शनलाई मार्गदर्शक सिद्धान्तको रूपमा लिएर अगाडि बढिरहेको यस सन्दर्भमा बुद्धको सन्देश र दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गइरहेका छन्”, मुख्यमन्त्री आचार्यले भने, “बुद्धको सन्देशलाई हामी सबैले अनुशरण गर्न जरुरी छ । यो पवित्र भूमिमा शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्ति मनाउन हामी सबै यहाँ उपस्थित भएका छौँ । लुम्बिनी ज्ञान भूमि हो । पवित्र तपोभूमि हो । यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ ।”

मुख्यमन्त्री आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपनि नियमित उडान नहुँदा चिन्ता बढेको बताउदै विमानस्थल सञ्चालन तथा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश सरकारले पहल गरिरहेको बताए ।

“लुम्बिनीको बारेमा सम्माननीय प्रधानमन्त्रीले नजिकबाट नियाल्नु भएको छ । उहाँको नेतृत्वमा यो विमानस्थल सञ्चालनमा आउनेछ”, आचार्यले भने, “यो विमानस्थल सञ्चालनमा आयो भने लुम्बिनीको मुहार फेरिने छ । अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन बढ्ने छ । विनम्रताका साथ सम्माननीय प्रधानमन्त्री र नागरिक उड्डयन मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । यहाँहरूको पहलकदमीमा यो एयरपोर्ट सञ्चालनमा आउने छ ।”