पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएका स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचार प्रसारलाई प्राथमिकतामा राखेर सरकारले विशेष ध्यान दिएको बताएका छन् ।
पाल्पाको रुरुक्षेत्र धाममा आयोजित ‘प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२’ को शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने गरी सरकारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेको बताएका हुन् ।
‘घुम्न जाऔं बर्दिया’, ‘पाणिनि तपोभूमि सम्मेलन’ र ‘रुरु शालग्राम महोत्सव’ यही उद्देश्यका साथ आयोजना गरिएको मुख्यमन्त्री आचार्यले स्पष्ट पारे। उनले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढ्दो क्रममा रहेको जानकारी दिए।
यस्तै मुख्यमन्त्री आचार्यले धार्मिक आस्था, नैतिक आचरण र संस्कृतिको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताए । समाजमा बढ्दो अराजकताको कारण औंल्याउँदै उनले असल संस्कार, संस्कृति र मूल्य(मान्यताहरूको जगेर्ना गर्न जरुरी रहेको धारणा राखे ।
“मुलुकमा अराजकता छाइरहेको छ । अराजकता छाउनुको पछाडिको एउटा कारण भनेको आज हामीले धर्म भुल्यौं, नैतिकता भुल्यौं, संस्कृति भुल्यौं । यी भुलेका कारणले आज युवाहरू अराजकतातिर धकेलिएका छन्”, मुख्यमन्त्री आचार्यले भने, “त्यसैले हामीले धर्म र संस्कृतिको संरक्षण गर्न जरुरी छ । त्यो उद्देश्य राखेर पनि प्रदेश सरकारले यी कार्यक्रमहरूलाई अगाडि बढाएको हो ।”
मुख्यमन्त्री आचार्यले ऐतिहासिक सम्पदाहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनबाट समृद्धिको यात्रा तय गर्न सकिने बताए । लुम्बिनी प्रदेश तपोभूमि भएको उल्लेख गर्दै उनले विभिन्न जिल्लाहरूका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व दर्शाउँदै रुरुक्षेत्रको शालग्रामलाई विश्व जगतमा पुर्याउन सकिने र धार्मिक पर्यटकहरू भित्र्याउन सक्ने आधार रहेको स्पष्ट पारे ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पाणिनि ऋषिको जन्मस्थल र संस्कृत व्याकरण लेखन स्थान पाणिनि तपोभूमि लगायत प्रदेशका धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई एक आपसमा जोड्ने गरी सरकारले योजना अघि बढाएको उनले जानकारी दिए ।
