एजेन्सी । अप्रिल २२ मा जम्मूकश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि एकअर्कामा आक्रमणमा उत्रिएका भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तानले युद्धविराममा सहमति भएका हुन् । सहमतिपछि दुई देशबिच ठूलो युद्धको तत्कालका लागि अन्त्य भएको छ ।

भारतको विदेशमन्त्रालयले एक वक्तव्य जारी गर्दै शनिबार साँझ ५ बजेदेखि लागु हुने गरी दुवैतर्फबाट कुनै पनि प्रकारको आक्रमण प्रत्याक्रमण नगर्ने सहमति भएको जानकारी दिएको छ । वक्तव्यमा भनिएको छ, “पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले आज शनिबार अपराह्न १५:३० बजे भारतका सैन्य अपरेसन महानिर्देशकसँग टेलिफोन वार्ता गर्नुभयो ।

दुवै पक्ष भारतीय मानक समय १७स्०० बजेदेखि जमिन, हवाई तथा समुद्र सबैतर्फको गोलाबारी र सैन्य कारबाही बन्द गर्न सहमत भएका छन् ।” सहमतिलाई प्रभावकारी बनाउन दुवै पक्षका सैनिकलाई निर्देशन दिइएको भारतीय विदेशमन्त्रालयले स्पष्ट पारेको छ ।

दुई देशका सैन्य अपरेसन महानिर्देशकबिच आउँदो सोमबार मध्याह्न १२ बजे दुई पक्षीय वार्ता गर्ने सहमति बनेको छ । कहाँ, कसरी वार्ता गर्ने भन्ने विषयमा भने दुई देशका सरकारको आपसी परामर्शमा तय गरिने जनाइएको छ । युद्धविराम भएपनि शनिवार राति पनि सीमा क्षेत्रमा गोलावारी भएको बताइएको छ । पाकिस्तानले सहमतिको उलंघन गरेको समेत आरोप लगाएको छ ।