इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ । प्यूठान ऐरावती गाउँपालिका–२, बह्राखुट्टीकी २० वर्षीया सरिता सार्कीलाई राप्ती गाउँपालिका–१, भालुबाङ पुलचोक नजिकैबाट प्रहरीले ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
वैशाख २३ गते साँझ करिब ५ ५० बजे घोराहीबाट प्यूठानतर्फ जाँदै गरेको भे १ ख ४३३२ नम्बरको इलेक्ट्रिक गाडीमा लागुऔषध ओसारपसार भइरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलीले गाडी चेकजाँच गरेको थियो ।
सो क्रममा सार्कीको रीतपूर्वक खानतलासी गर्दा उनले भित्री कपडामा लुकाएको अवस्थामा २ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । ती युवतीलाई पक्राउ गरी लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिएका छन् ।
