काठमाडौं । आज दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतका एक शाखा अधिकृतले पठाएकोलाई सर्वाेच्चले नै अनधिकृत पत्र भन्दै रिहा गर्न अर्काे पत्र पठाएपछि चौधरी करिव ५ घण्टापछि रिहा भएका हुन् ।
चौधरीलाई प्रहरीले आज बुधबार दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पुर्याइएका उनलाई भर्खरै डिल्लीबजार कारागारबाट छाडिएको हो । अनधिकृत पत्र लेखेको भन्दै सर्वाेच्चका शाखा अधिकृत महिमानसिंह विष्ट भने पक्राउ परेका छन् ।
२०७२ भदौमा कैलाली टीकापुरमा भएको घटनाका मुख्य योजनाकार रहेका चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी रिहा भएका थिए ।











