काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । नाउपा र जनमत पार्टीको एकतासभा गर्ने तयारी गरिरहेकै बेला आज चौधरीलाई कमलादीबाट प्रहरीले पक्राउ गरेको हो ।
टीकापुर घटनापछि पाँच वर्ष सजाय भोगेका चौधरीलाई गणतन्त्र दिवसको दिन गत जेठ १५ गते आममाफी दिइएको थियो । सोपछि उनी रिहा भएका थिए । त्यसको विरुद्धमा टीकापुर घटनाकी पीडित शारदा कडायतले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
चौधरी पक्राउपछि नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित भएको छ । नागकिर उन्मुक्ति पार्टीका प्रवक्ता शरदसिंह यादवले पार्टी पार्टीका संरक्षक चौधरीलाई पक्राउ गरिएपछि पार्टी एकता घोषणा कार्यक्रम स्थगित भएको जानकारी दिएका छन् । संरक्षक चौधरीलाई के कारणले पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले कुनै जानकारी नदिएको उनले बताए ।











