दाङ । दाङमा वन संरक्षण गरेर काठ, दाउरा उत्पादन गर्दै आएका सामुदायिक वनले जङ्गलमा खेर जाने घाँस र पातपतिङ्गरबाट जैविक मल उत्पादन गरेर आयआर्जन गर्न थालेका छन् ।
दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने घाँस र पातपतिङ्गरलाई उपयोग गरेर प्राङ्गारिक मल उत्पादन गर्न थालेको छ ।
अजम्बरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले वन क्षेत्रमा जलेर, कुहिएर नष्ट हुने घाँस, स्याउला सोत्तरलाई उपयोग गरेर गत वर्षदेखि प्राङ्गारिक मल उत्पादन गर्न थालेको बताए ।
पातपतिङ्गरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी वन समूह अघि बढेको अध्यक्ष रिजालले बताए । पातपतिङ्गर व्यवस्थापनलाई दिगो बनाउन आम्दानीसँग जोडेर प्राङ्गारिक मल उत्पादन थालेको हो ।
वन व्यवस्थापनमा आधारित कार्यक्रम अन्तर्गत समुदायिक वन अध्ययन केन्द्रले प्राङ्गारिक मल उत्पादनका लागि औजार सहयोग गरेपछि वन समूह मल उत्पादनमा जुटेको हो । वन समूहले प्राङ्गारिक मल उत्पादन गर्न थालेपछि स्थानीय सात जनाले रोजगारीसमेत पाएका छन् ।
वन जङ्गलमा सुकेको पातपतिङ्गरसँगै गाईभैँसीको गोबर सङ्कलन गरेर प्राङ्गारिक मल उत्पादनका लागि स्थानीयलाई रोजगारी मिलेको छ ।











