भालुबाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गरेका छन् । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि सोमबार मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री आचार्यले भालुबाङ अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा प्रदेश सरकारले अघि बढाएको र जनशक्तिको व्यवस्थापनसहित गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिने बताए। दाङ, अर्घाखाँची, प्युठान, रोल्पा लगायतका जिल्लाका नागरिकले उपचार पाउने भरपर्दो अस्पतालको रूपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मातहत रहेका अस्पतालहरूबाट विशेषज्ञ उपचार सेवा प्रभावकारी रूपमा सञ्चालन गरिने बताए । अस्पतालहरूलाई पूर्वाधार सम्पन्न, विशेषज्ञ जनशक्तिको व्यवस्थापनसहित उपकरण र सेवा प्रवाहलाई चुस्त बनाउने गरी सरकार अघि बढेको उल्लेख गर्दै उनले दुर्गम क्षेत्रका अस्पतालहरूमा विशेषज्ञ डाक्टरको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिएको र सुगम क्षेत्रका अस्पतालमा थुप्रिएको जनशक्ति अन्य स्थानमा पठाउन सरकार लागिपरेको बताए।
सो अवसरमा स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले सबैको सहकार्य र योगदानको आधारमा अस्पतालको सेवा विस्तार गर्नुपर्ने बताए ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर आकाश बेल्वासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डाक्टर रणबहादुर बोगटीले उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी हुँदै प्रस्तावित अस्पताल भएर भालुबाङ अस्पतालको रूपमा अगाडि बढेको जानकारी दिए ।
२०७८ सालमा प्रस्तावित अस्पतालको रूपमा स्वीकृत भइसकेको अस्पतालमा अहिले विशेषज्ञ सेवा विस्तार गरिएको हो । अस्पतालमा जटिल प्रसूति सेवा अन्तर्गत शल्यक्रिया गरिँदै आएको छ । हालसम्म ५१ वटा जटिल प्रसूतिको शल्यक्रिया गरिएको छ ।
