दाङ । २० वर्षअघि ससुराको हत्या गरी फरार भएका एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ । तुलसीपुरको बरुवागाउँ घर भई टरिगाउँ बस्दै आएका ३९ वर्षीय वीरबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
१५ वर्षसम्म लुकिछिपी भारतमा बसेका गुरुङ पाँच वर्षअघि दाङमै फर्किएर प्रहरीकै पोल्ट्रीफार्ममा काम गरिरहेका थिए । सो कुरा गोप्य सूचनाको आधारमा पत्ता लागेपछि २०८२ सालको वैशाख १२ गते प्रहरीले उनलाई पक्राउ गरेको हो । गुरुङले आपसी विवादका कारण २०६२ साउन १४ गते तुलसीपुरकै अश्वारा घर भएका ससुरा काशीराम विकको हत्या गरी श्रीमतीसहित फरार भएका थिए ।
काशीराम विकको हत्याको यो केस पेण्डिङमा थियो,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले भने, ‘कर्तव्य ज्यान मुद्दाको २० वर्षे हदम्याद साउनमा सकिँदै थियो । तर हत्यामा संलग्न बीरबहादुरलाई पक्राउ गर्न हामी सफल भएका छौं ।’
गुरुङ तुलसीपुरस्थित शुभलक्ष्मी पोल्ट्री फार्मको गाडी चलाउने काम गर्दै आएका थिए । सोहीे पोल्ट्री फार्म एक जना प्रहरी हबल्दारका बुवाले पनि काम गर्दै आएकाले विगतको घटनाको पोल खुलेको पछि उनी पक्राउ परेका हुन् ।











