काठमाडौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–एमाले गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् । सत्ता समीकरण बदलिन सक्ने चर्चा चलिएरहेका बेला ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँगको संवादपछि आफू ढुक्क भएको बताएका छन् । उपचारका लागि बैंकक पुगेका कांग्रेस सभापति देउवा शुक्रवार फर्किएका थिए ।
त्यसलगत्तै प्रधानमन्त्री ओलीले गरेको फोन संवादमा पनि देउवाले सोही प्रतिबद्धता दोहोर्याएको प्रधानमन्त्रीनिकट एक एमाले नेता बताउँछन् । देउवाको आश्वासनले ढुक्क भएका ओलीले शनिबार एमाले संसदीय दलको बैठकमा सरकार नढल्ने दाबी गर्दै भने, ‘कांग्रेस–एमाले गठबन्धन कुनै हालतमा टुट्ने छैन ।’
एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले गठबन्धनमा कुनै समस्या नभएको प्रस्ट पार्दै भने ‘अहिलेको परिस्थितिबारे धेरै भन्नु आवश्यक छैन, हिजोसम्म आगो बाल्न खोजेका थिए, शेरबहादुर देउवाजी फर्किएर आउँदा सरकार ढल्छ कि भन्नेजस्तो हल्ला फिँजाइएको थियो, ‘देउवाजी एयरपोर्टबाट ओर्लिनेबित्तिकै यो सरकार ढल्छ कि भन्ने शैलीमा हल्ला फैलाइयो । ढल्यो, ढल्यो, ढल्यो भन्दै हल्ला गरियो । तर शेरबहादुरजी आइपुगेपछि केही भएन त ।’
प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले बैंकक जानुअघि आफूलाई देउवाले फोनमा ‘आएपछि भेटौंला’ भनेको दाबी गर्दै देउवा फर्किएपछि समीकरण बदलिने सक्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।











