दाङ, १७ साउन
नेवार सेवा समितिले आज देखी लाखे जात्रा शुरु गर्दैछ । घण्टाकर्ण अर्थात गठ्यामंगल देखी शुरु हुने लाखे नाच कृष्णअष्टिमी सम्म नाच्ने प्रचलन रहेको छ । सोही परम्परा अनुसार नेवार समुदायमा प्रचलित गठे मंगल पर्व आज मनाईदै छ । राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले आज देशभर यो पर्व मनाउँने गर्दछन् ।images श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ ।

दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको छ ।आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरीन्छ । परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवानको नाम सुन्न नपरोस’ भनी कानमा घन्टा झुन्ड्याएको र उसको आतंकले धेरैलाई अपठ्यारो परेकाले घण्टाकर्णको आज कै दिन दहन गरिएको कथन रहेको छ ।

त्यसै विच, नेवार सेवा समिति दाङले घोराहीको गणेश मन्दिर चोकमा घण्टाकर्णको प्रतिमा राखेर लाखे नाचको शुभारम्भ गर्ने जनाएको छ । अहिले विहान ७ वजे पछि घण्टाकर्णको पुजा अर्चना गरिएको छ भने वेलुकी ५ वजे पछि लाखे नाच प्रारम्भ हुने नेवार सेवा समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।

लाखे जात्रा अवलोकनका लागि सवैलाई गणेश मन्दिरमा उपस्थित हुन नेवार सेवा समिति दाङले अनुरोध गरेको छ । आजबाट सुरु भएको पर्व लाखेजात्रा, गाईजात्रा, रोपाई जात्रा मनाएर दही जात्रा कृष्णअष्टमी पछि सम्पन्न हुने गरेको छ ।