दाङ । दाङको एउटा कृषि सहकारीले मेवा खेतीबाट राम्रो आम्दानी गर्दै आएको छ । घोराही उपमहानगरपालिका–४ मा रहेको बलिदान कृषि सहकारीले मेवाको बिरुवा र फल विक्री गरेर आम्दानी बढाउँदै लगेको छ । सहकारीले आम्दानीसँगै आफ्ना सदस्यहरूलाई रोजगारी पनि दिँदै आएको छ ।

सहकारीले ९ कट्ठा जग्गा भाडामा लिएर गत वर्षदेखि रेड लेडी जातको मेवा खेती सुरु गरेको थियो । सहकारीले हालसम्म मेवाको बिरुवा विक्रीबाट ५० हजार र पाकेको फल विक्री गरेर १ लाख आम्दानी गर्न सफल भएको सहकारीका व्यवस्थापक स्यानु चौधरीले बताए ।

यसअघि रेमिट्यान्स सेवा मार्फत आम्दानी गर्दै आएको सहकारीले नयाँ सहकारी ऐनमा कृषि सहकारीले उक्त सेवा सञ्चालन गर्न नपाउने भएपछि आम्दानीका अन्य उपाय खोज्न थालेको थियो । ३५० सदस्य र डेढ करोड पुँजी रहेको उक्त सहकारीले धान खरिद गरी चामल विक्रीबाट पनि गत वर्ष डेढ लाख आम्दानी गरेको थियो ।