काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले सरकारमा नजाने स्पष्ट पारेका छन्। राजावादीहरू सलबलाएपछि कांग्रेस, एमाले र माओवादीबीच राष्ट्रिय सरकार बन्ने चर्चा भइरहेका वेला अध्यक्ष प्रचण्डले अहिले आफुनो पार्टिले सरकारमा जाने कुनै नीति नलिएको स्पष्ट पारेका हुन् ।

जसपा नेता राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “हिजो अस्तिदेखि सरकार बनाउनतिर लागे भन्ने चर्चा भइरहेको छ। ल अब कांग्रेस, एमाले र माअ‍ेवादी मिलेर सरकार बनाउने भए अरे भनेर सामाजिक संजालमा चर्चा र टेलिफोनमार्फत सोधखोज भइरहेको भन्ने छ तर म आज भन्छु कि हामी अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौँ‚ लिँदैनौँ पनि।”

सत्तारुढ दलका नेतृत्वसँग संक्रमणकालीन न्यायलगायत अन्य विषयमा कुराकानी भएको तर सरकारबारे कुनै कुराकानी नै नभएको जिकिर गर्दै प्रचण्डले माओवादीले भ्रष्टाचारी जोगाउन बनेको सरकारसँग मिलनविन्दु नदेखेको बताए ।

“देशमा संकट आइलाग्यो भने हामीले कसरी समाधान गर्ने भनेर हामी आफ्नो विचार त दिन्छौँ नै तर यही सरकारमा गएर हामी पनि त्यसैमा सामेल हुने कुनै नीति हाम्रो छैन। औपचारिक कुरा भएको पनि छैन। अन्य विषयमा कुरा हुन्छ गर्नु पनि पर्छ‚ टीआरसीलगायत विषयमा। तर सरकार बनाउने बारेमा हामी बिलकुल छैनौँ”, प्रचण्डले भने ।