लमही । नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले कप्तानी पारी खेल्दै ६३ रन बनाएपछि मधेश प्रदेशको टीमलाई २८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दाङमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा नेपाल पुलिस क्लबले मधेश प्रदेशको टीमलाई जीतका लागि २८९ रनको लक्ष्य प्रस्तुत गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २८८ रन रन बनायोे ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रतियोगितामा अहिलेसम्मकै उच्च रन बनाउन कप्तान दीपेन्द्रसिंह ऐरीले विस्फोटक पारी खेले । उनले ३६ बल खेल्दै ४ छक्का र ५ चौकाको मद्दतमा ६३ रन बनाउँदै विशाल पटेलको बलमा निखिल सिंहको हातबाट क्याच आउट भए ।

यसैगरी आरिफ शेखले ५४ बलमा १ छक्का र ४ चौकाको मद्दतमा ५५ रन बनाउँदै विशाल पटेलकै बलमा कप्तान अनिल साहको हातबाट क्याच आउट भए । दीलिप नाथ ४५ रनमा कमल गुप्ताको बलमा एलबीडब्लूको सिकार भए । ओपनर अर्जुन साउदले ४७ रनमा रञ्जित कुमारको बलमा मयन यादवले क्याच आउट गरे ।

नेपाल पुलिस क्लबका शंकर रानाले २७ रन, रासिद खानले १४ रन, कुशल भुर्तेलले ११ रन बनाए । पहिलो विकेटका रुपमा कमल गुप्ताले आठौँ ओभरको पहिलो बलमा स्पम्पिङ आउट गर्दै ब्रेकथ्रु गरेपनि तेस्रो विकेटका लागि मधेशका खेलाडीलाई संघर्ष गर्नु पर्यो । तेस्रो विकेटका लागि दीलिप नाथ र आरिफ शेखले ५० रनको साझेदारी गरे ।

यसैगरी दीपेन्द्र र आरिफ बिचको ३२ बलमा ५० रनको अर्को साझेदारी बनेको थियो । मधेश प्रदेशका लागि रुपेश सिंहले ८ दशमलव ५ ओभरमा ६२ रन दिएर ४ विकेट लिए । विशाल पटेलले ९ ओभरमा ५७ रन खर्चेर ३ विकेट लिँदा कमल गुप्ताले १० ओभर बलिङ गर्दै ५७ रन दिएर २ विकेट लिए । रञ्जित कुमारले ७ ओभरमा १ मेडनसहित ४० रन खर्चेर १ विकेट लिए । २८९ रनको विजयी लक्ष्यका साथ अब केहीबेरमा मधेश प्रदेशको टीमले जवाफी ब्याटिङ गर्दैछ ।