दाङ । दाङको बंगलाचुली गाउँपालिका–८, हासिपुरमा विभिन्न पार्टी परित्याग गरी २१ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य तथा सांसद माननीय रेखा शर्मा, दाङ जिल्ला इन्चार्ज निर्मल आचार्य, लुम्बिनी प्रदेश सचिवालय सदस्य तुलसीराम पुन मगर र पालिका कमिटी अध्यक्ष सबिराम कामीले संयुक्त रूपमा स्वागत गरेका थिए।
पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमाले परित्याग गरी दामबहादुर गाहा, दुर्गबहादुर खत्री, गुमानसिंह खत्री, टेकबहादुर बिक, भीमबहादुर बुढा, नमराज खत्री, सिर्जना राना, बसन्ती समाल, उषा राना, हिमलाल खत्री, भीमबहादुर सलाम रहेका छन्। यस्तै, नेपाली कांग्रेस परित्याग गरी खिमा खत्री, खिमानसिंह खत्री लगायतका व्यक्तिहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
नवप्रवेशीहरूले नेकपा माओवादी केन्द्रको विचारधारा, स्थानीय विकासको अभियान र वर्तमान सरकारप्रति विश्वास जनाउँदै पार्टी रोजेको बताएका छन्। उनीहरूका अनुसार, अन्य दलभित्रको आन्तरिक गुटबन्दी, नेतृत्वप्रति असन्तोष, तथा समावेशी र परिवर्तनकारी नीतिप्रति आकर्षणले आफूहरूलाई माओवादी केन्द्रमा आउन प्रेरित गरेको हो।
पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि स्थायी समिति सदस्य तथा सांसद रेखा शर्माले नवप्रवेशीहरूलाई स्वागत गर्दै माओवादी केन्द्र नै जनताको पक्षमा लड्ने एकमात्र सशक्त शक्ति भएको बताइन्। उनले दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रको प्रभाव अझै बलियो बन्दै गएको उल्लेख गरिन्।
त्यस्तै, दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले माओवादी केन्द्र सरकारमा रहँदा खेलेको भूमिका उत्कृष्ट रहेको र संगठन सुदृढीकरण तथा स्थानीय विकासलाई प्राथमिकता दिइरहेको बताउँदै नवप्रवेशीहरूलाई पार्टी अझ मजबुत बनाउन आग्रह गरे। उनले माओवादी केन्द्र स्थायित्व र विकासको मुख्य विकल्प भएको बताए।
बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन (सुवास) ले माओवादी केन्द्र सधैं स्थानीय विकास र जनताको हकहितका पक्षमा अगाडि रहने बताउँदै नवप्रवेशीहरूको आगमनले संगठन थप सबल हुने धारणा राखे। कार्यक्रम नेकपा माओवादी केन्द्र बंगलाचुली वडा नं। ८ का अध्यक्ष देबिराम गाहाको अध्यक्षता, स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा दाङ क्षेत्र नं. २ की सांसद रेखा शर्माको प्रमुख आतिथ्यतामा भएको थियो ।











