काठमाडौं । ऊर्जा मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कानुन नमानेको र सरकारलाई नटेरेको बताएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा घिसिङलाई स्पष्टीकरण सोधिएको र कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिएकोलगायत विषयमा नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलका सांसदहरूले प्रश्न उठाएपछि मन्त्री खड्काले यस्तो जबाफ दिएका हुन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सबै प्रतिपक्षी दलहरूका तर्फबाट भन्दै घिसिङमाथि ऊर्जा मन्त्रालयले पटक पटक स्पष्टीकरण सोधेको र शून्य नम्बर दिएकोबारे सरकारको जबाफ माग गर्दै रूलिङ मागेका थिए ।

सभामुख देवराज घिमिरेले रूलिङ दिएपछि मन्त्री खड्काले बिहीबारको प्रतिनिधि सभा बैठकमा घिसिङबारे उठेका कुराहरू प्रष्ट पार्न खोजे । घिसिङ एक जनाले मात्र लोडसेडिङ अन्त्य नगरेको उल्लेख गर्दै ४५० मेगावाट विद्युत त्यसबेला भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेकोले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारत सरकारलाई यसको श्रेय जाने पनि मन्त्री खड्काले बताए।

मन्त्री खड्काले घिसिङलाई काँधमा बोकेर नहिँड्न पनि सांसदहरूलाई आग्रह गरेका छन्। ‘गाउँघरमा भनाइ छस बच्चालाई काँधमा बोकेको पिसाब फेरिदिएछ। त्यस्तै नहोस्’, उनले भने।