काठमाडौं । संघीय संसद भवन परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिटलर हो भनेर प्रश्न सोधेका पत्रकारको पास निलम्बन भएको छ। संसद सचिवालयले प्रधानमन्त्री ओलीलाई अमर्यादित प्रश्न सोधेको भन्दै दुई पत्रकारको पास एक महिनाका लागि निलम्बन गरेको हो।
गत फागुन ४ गते ती पत्रकारहरूले प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेका थिए। सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको हो।
ती पत्रकारहरूले संसद भवन परिसरभित्र देखाएको व्यवहार र शैलीले संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको देखिएको सचिवालयको भनाइ छ। संसद भवन प्रवेशका लागि संघीय संसद सचिवालयले पास उपलब्ध गराउने गर्छ।











