काठमाडौं । अमेरिकाबाट अवैध आप्रवासी नेपाली लिएर आएको अमेरिकी चार्टर विमान काठमाण्डौमा अवतरण भएको छ । अध्यागमन कानून उल्लङ्घन गर्ने केही नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज जीआरपी–२३ विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए।
यो चार्टर विमानले १० जना नेपाली काठमाण्डौ ल्याउने भनिएको छ । यो चार्टर जहाज भोलि दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने तालिका छ ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई आफ्नै देश फर्काउने क्रमले तीव्रता पाएको छ । अमेरिकाले पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गर्ने जनाएको थियो । सो सूची अनुसार एक हजार तीन सय ६५ जना नेपाली छन् ।











