काठमाडौं । तपाइँ कतै सकटमा पर्नुभएको बेला प्रहरी अथवा सुरक्षाकर्मी देख्न वित्तीकै मनाबल बढ्छ । किन भने उनीहरु हाम्रै सेवाका लागि हुन् र उनी जनताको धन, जन र संकटमा परेको बेला आफ्नो जिम्मेवारी पूरा गर्छन् । तर पछिल्लो चरणमा केही सुरक्षाकर्मी नै अपराधमा मुछिएको देख्दा उनीहरुप्रतिको पेशागत जिम्मेवारीमा पनि प्रश्न उठ्न थालेको छ । त्यस्तै खालको घटना भएको छ राजधानी काठमाडौंमा पनि । यहाँ तीन प्रहरी मिलेर एक क्रिप्टो कारोबारीलाई फिल्मी शैलीमा लुटे। क्रिप्टो कारोबारमा संलग्न धादिङ घर भई टोखा बस्ने २६ वर्षीय रोशन गुरुङलाई प्रहरी वृत्त बानेश्वरका दुई प्रहरी तथा सिनामंगलस्थित सशस्त्र प्रहरी गणका एक प्रहरी मिलेर लुटेका हुन् ।
हुन्डीको कसुरमा फसाइदिने भन्दै लुटपाट गर्नेहरू आफैँ प्रहरी हिरासतमा पुगेका छन् । ती प्रहरीसहित सात जनालाई नियन्त्रणमा लिएर काठमाडौं प्रहरीले अनुसन्धान अघि बढाएको छ । लुटपाटमा संलग्न नेपाल प्रहरीका सहायक हवल्दार बाँके बैजनाथ घर भएका खगेन्द्र मल्ल ठकुरी, जवान खोटाङ रावाबेँसी घर भएका हिरा मंग्राती, सशस्त्र प्रहरीका सहायक हवल्दार प्युठानका राजेन्द्रकुमार केसीलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार पक्राउ गरेको हो । लुटपाटमा उनीहरूलाई सघाउने मोरङका कपिल बस्नेत, दोलखाका संजोक तामाङ र मोरङका मनीषकुमार रायलाई पनि पक्राउ गरिएको काठमाडौं परिसरले जनाएको छ । क्रिप्टो कारोबारी गुरुङ पनि पक्राउ परेका छन् ।
कपिलले प्रहरीसँग मिलेर लुटपाटको योजना बनाएका थिए । आफूले सस्तोमा क्रिप्टो बेच्ने भन्दै उनले रोशनलाई पैसा लिएर आउन भनेका थिए । सोहीअनुसार रोशन आइतबार १४ लाख लिएर बानेश्वरको एक रेस्टुरेन्टमा पुगे । त्यहाँ उनी कुरा गर्दै गर्दा दुई प्रहरी हतकडी लिएर छिर्छन् र आफ्नो परिचयपत्र देखाउँदै १० लाख रुपैयाँभन्दा धेरैको पैसा हुन्डी हुने भन्दै पक्राउ गरेर मुद्दा चलाइदिने भनेर थर्काउँछन् । पछि मुद्दा नचलाउने सर्तमा सो पैसा लिएर जान्छन् । जुन पैसा प्रहरी र सुराक दिने व्यक्तिले आधा–आधा लिएको अनुसन्धानबाट खुलेको छ ।











