काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अध्याँरो युगबाट भर्खरै उज्ज्यालो युगमा प्रवेश गरेकाले युवाहरु निराश हुनुनपर्ने बताएका छन् ।
नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल जोरपाटीको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताए।
सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा ओलीले जोड दिए ।
“खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ । पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ । तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन । आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्छ ।’’, प्रधानमन्त्री ओलीले भने, “निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन । शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन । एसइईमा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ ।’’











