घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा फागुन २ गतेदेखि जारी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । जिल्लामा उत्पादन भएका विभिन्न सामाग्रीदेखि छिमेकी जिल्लामा उत्पादन भएको कृषि, घरेलु उत्पादनका वस्तुहरुको आकर्षण बढ्दो मात्रामा रहेको छ ।

उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा अचार, विभिन्न प्रजातिका चामल, फापर, कोदो, ओखरको घाँजी, होजियारी उत्पादन गुडियाहरु महोत्सवमा राखिएको छ ।

महोत्सवको मुख्य पैवेशद्वारको छेउमै प्राथमीकता साथ कृषी तथा प्रदर्शनीका स्टलहरु राखिएको छ । महोत्सवमा स्थानीय उद्योगहरुबाट उत्पादन गरिएको अचारहरुले दर्शकहरु तानेको छ । महोत्सवमा आउने दर्शकहरुले अचारप्रति चासो राख्ने र खरिद पनि गर्ने गरेका छन् । महोत्सवमा अग्र्यानिक कृषि उपज तथा प्रशोधन बजार केन्द्र घोराही र शान्ताको अचारको स्टलहरुले विभिन्न आईटमका अचारहरु विक्री गरिरहेका छन् । जसमा विभिन्न वस्तुबाट तयार गरिएको अचारहरु विक्रीका लागि राखिएको छ । जसमा अकवरे खुर्सानी, लप्सी, तामा, आँप, मूला, गाँजर, गोभी, मिक्स अचारहरु विक्रीकालागि दुबै स्टलमा राखिएको छ ।

दैनिक ५ हजारदेखी १५ हजारसम्मको अचार विक्री हुने गरेको अग्र्यानिक कृषि उपज तथा प्रशोधन बजार केन्द्र घोराहीका प्रो। गीता वलीले बताए । उनले स्थानीय महिलाहरुले स्थानीय वस्तुहरुबाट अचार तयार गरेर केन्द्रमार्फत विक्रीकालागि महोत्सवमा राखिएको रावतले जानकारी दिए । उनले दर्शकहरुलाई अचार रहेको स्टलहरुको अवलोकन गर्न अनुरोध पनि गरे ।

महोत्सवमा जिल्लाको पहिचानमा रहेका रैथाने धान सिम्ठारो र तिल्कीको चामल, विभिन्न प्रकारका दालहरु पनि राखिएको छ । यस्तै मार्सीको चामल, भागो, फापरको पिठो, कोदोको पिठो, कोदो, सिमी लगायतका सामाग्रीहरु पनि राखिएको छ । फापरको पिठो, सिमी, मार्सि र तिल्कीको चामलको विक्री बढी हुने गरेको नरेन्द्र विष्टले जानकारी दिए ।
महोत्सवमा स्थानीय महिलाहरुले उत्पादन गरेको गुडियाहरु पनि विक्रीका लागि राखिएको छ ।

राप्ती गाउँपालिका २ की तिर्सना पुनले गुडिया पसलको स्टल राख्नुभएको छ । विभिन्न गुडियाहरु तयार गरेर विक्री गर्ने गरिएको छ । डल, कुकुर, खरायो लगायतका गुडियाहरु तयार गरेर विक्री गर्ने गरेको र ग्राहकहरुको अर्डर अनुसार पनि गुडियो तयार गरेर विक्री गर्ने गरेको पुनले जानकारी दिनुभयो । स्टलमा सयदेखी २ हजारसम्मका गुडियाहरु विक्रीकालागि राखिएको छ । दैनिक ७ हजारदेखी १५ हजारसम्मको गुडिया विक्री भई रहेको पुनले जानकारी दिए।

महोत्सवमा लालीगुँरास कृषक समूह दियावाटी कृषक समूह गढवम गाउँपालिका ३ गोवरडिहा दाङले माटोका भाँडाको स्टल राखेको छ भने कर्णालीको अर्गानिक सिमीको दाल पनि राखिएको छ ।

महोत्सवमा स्थानीय रुपमा उत्पादन गरिएको अल्लोको विभिन्न सामाग्रीहरु, स्थानीय उद्योगहरुबाट उत्पादन गरिएको कापीहरु लगायत सामाग्रीहरु राखिएको छ । महोत्सवमा कृषी तथा पर्दशनीका ३४ वटा स्टलहरु विभिन्न सरकारी कार्यालय तथा सम्बन्धीत संघसंस्थाहरुसँग समन्वय गरेर राखिएको छ ।

जीवन शर्मा र अर्जुनको प्रस्तुति

महोत्सवमा जनवादी गायक जीवन शर्माले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नुभयो । उहाँले आफ्ना लोकप्रिय सदाबहार गीतहरू सिमली छायाँमा बसी लगायतका आधा दर्जन गीतहरू प्रस्तुत गरे ।
यस्तै गायक अर्जुन सापकोटाले बस्यौ अलक्कै, दुख साटौला, सँगसँगै जिउला नि लगायतका गीतहरू प्रस्तुत गरे । मंगलवार कलाकारहरू मधु रसाईली, बिन्दा परियार, अस्मीता राना, दिला घरच्वार, शान्तराम सेञ्चुरी लगायतले प्रस्तुति राखेका थिए ।

बुधवार पस्कल शर्मा र सत्यकला राई
महोत्सवमा बुधवार कलाकार लोकदोहोरीका लोकप्रिय गायक पुस्कल शर्मा र सुगम संगीतको लोकप्रिय गायिका सत्यकला राईको प्रस्तुति रहने छ । यस्तै कलाकारहरू समीर आचार्य, सपना शाही, शशीकला राई, बिमला खड्का, अञ्जु चौधरी, महेश केसी लगायतका कलाकारहरूको प्रस्तुती रहने छ ।