तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका ७ का दिया चौधरी बिहानै तुलसीपुर बजारमा तरकारी बिक्री गर्न गए । उनलाई बजार क्षेत्रको निश्चित ठाँउमा तरकारी बिक्रीका स्थान तोकिएको छ । २५ वर्षदेखि तरकारी उत्पादन बिक्री गर्दै आएकी चौधरीलाई किसान परिचय पत्र प्राप्त गरेसँगै तरकारी बिक्री वितरणमा सजिलो भएको बताए ।
दिया मात्रै होइन १५ वर्षदेखि तरकारी खेती गर्दै आएका तुलसीपुर १९ का खिमबहादुर घर्तीमगरले परिचय पत्र वितरणबाट किसान र उपभोक्ता दुवै फाइदामा पुगेको बताए । उनले किसानले आफैं तरकारी बिक्रीका लागि स्थान प्राप्त गरेपछि बिचौलियाबाट उपभोक्ता ठगिनबाट बचेको बताए ।
उत्पादन गरेको तरकारी बिक्री गैह्रकिसानले बजारका विभिन्न ठाउँमा हड्प्दै तरकारी बिक्री वितरण गर्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले पालिकाभित्र रहेका किसानहरूले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्री वितरणका लागि किसान परिचय पत्र समेत उपलब्ध गराएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले बजार क्षेत्रका गैह्र किसानहरूले बजारका जुनसुकै ठाँउमा बसेर तरकारी बिक्री गर्न थालेपछि उत्पादन गर्ने किसान मारमा पर्न थालेपछि किसान परिचय पत्र वितरण गरिएको बताए । उनले दीर्घकालीनरूपमा समस्या समाधानका लागि पातुखोला पुलदेखि उत्तरतर्फको खाली क्षेत्रमा टहरा निर्माण गरिएको बताए। उनले क्रमशः बजारका चारैदिशामा किसानहरूले उत्पादन गरेका वस्तुको बिक्री वितरणका लागि टहरा निर्माण गरिने बताए ।
कृषि शाखाका प्रमुख धनराज गौतमले किसान परिचय पत्र वितरणसँगै किसानहरूले उत्पादन गरेका वस्तुुको बिक्री वितरणमा सहज भएको बताए । गौतमका अनुसार तुलसीपुर उपमहानगरपालिकाका १,२,३,४,७,८,१२,१४,१५,१६,१८ र १९ नम्बर वडाका एक सय बढी किसानले आफूले उत्पादन गरेका तरकारी बिक्री वितरणका लागि किसान परिचय पत्र वितरण गरिएको जानकारी दिए ।











