दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषिको समग्र विकासलाई केन्द्रमा राख्दै आवधिक योजनाको प्रस्तावना तयार पारेको बताएका छन् । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समितिले विभिन्न सुझाव समेटिएको ज्ञापनपत्र बुझाउने क्रममा मुख्यमन्त्री आचार्यले कृषिमा यान्त्रिकीकरण, व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने गरी योजना अघि सारिएको बताएका हुन् ।
प्रदेशको समृद्धि र विकास कृषिको विकासबाट सम्भव हुने भन्दै आचार्यले किसानको जीवनस्तर उकास्न सरकार योजनाबद्ध रूपमा अगाडि बढेको उल्लेख गरे ।‘आवधिक योजनामा धेरै बिषय समेटिएका छन् । नसमेटिएका बिषयहरुलाइ थप्छौं’मुख्यमन्त्री आचार्यले भने, ‘कृषि क्षेत्रबाट प्रदेशको समृद्धि र विकास सम्भव भएकाले यसलाई प्राथमिकताका साथ आवधिक योजनामा समेटेका छौं ।’
संघीय सरकारसँग निरन्तरको समन्वयमार्फत सरकारले किसानलाई खेती गर्ने बेलामा रासायनिक मलको अभाव हुन नदिन पहल गरिरहेको मुख्यमन्त्री आचार्यले बताए । साथै, कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी वर्षको बजेट तयारी भइरहेको जानकारी दिए ।
यसैबीच, अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज आरती पौडेल र प्रदेश अध्यक्ष महेन्द्र गिरी नेतृत्वको टोलीले प्रदेश सरकारलाई किसानका समस्याबारे ज्ञापनपत्र बुझाएको थियो । महासंघले रासायनिक मल अभाव र इन्धनमा भएको मूल्यवृद्धिले कृषिक्षेत्र, मुलुकको अर्थतन्त्र र आम नागरिकको जीवनस्तरमा गम्भीर प्रभाव परेको भन्दै समयमै समाधानका लागि आग्रह गरेको छ ।
महंगी, खाद्यान्न संकट, तथा व्यापार घाटाका कारण अर्थतन्त्रमा देखिएको अस्थिरताप्रति महासंघले चिन्ता व्यक्त गरेको छ । दैनिक उपभोग्य सामग्री, पेट्रोलियम पदार्थ, निर्माण सामग्रीलगायत वस्तुहरूको मूल्यवृद्धिले उपभोक्तालाई समस्या परेको र आयात–निर्यात असन्तुलनले व्यापार घाटा चरमचुलीमा पुगेको महासंघको ठम्याई छ ।











