दाङ । आफ्ना मागहरु राख्दै केही दिनदेखि दवावमूलक आन्दोलनमा उत्रिएका स्वर्गद्वारी गुठी पीडित किसानले आज घोराहीस्थित जिल्ला मालपोत कार्यालयमा धर्ना दिएका छन् । सरकारसँग विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्ने माग राख्दै आन्दोलनरत मोही किसानले आइतबार बिहान १० बजेदेखि घोराहीमा रहेको मालापोत कार्यालय घोराहीको गेटमा धर्ना दिएका हुन् ।
स्वर्गद्वारी आश्रमको जग्गामा भएको द्वोयध स्वामित्व अन्त्य हुनुपर्ने, गुठी जग्गालाई रैकर गर्नुपर्ने, मोही किसानलाई जग्गा दिनुपर्नेलगायतका माग राख्दै किसानले कार्यालयको गेटमा नाराबाजीसहित धर्ना दिए । सरकारले विगतमा किसानसँग गरेको सम्झौता कार्यान्वयन नगरेका कारण दबाब स्वरूप आन्दोलन गर्नुपरेको गुठिपीडित किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।
स्वर्गद्वारी आश्रमअन्तर्गत दाङका विभिन्न ठाउँमा भएको एक हजार ५० विगाह जग्गामध्ये ७ सय ५३ बिघामा मोही रहेको छ । उक्त जग्गामा ३ हजार ५ घरधुरीका १५ बढी घरधुरी किसानले बसोवास गर्दै आएका छन् ।











