इन्द्रेणी संवाददाता
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भोलि फागुन २ गतेदेखि घोराहीमा सुरु हुने ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को तयारी पूरा भएको छ । महोत्सवका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणको तयारी सम्पूर्ण पूरा भएको संघले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले महोत्सव स्थलमा पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं आयोजक मूल समितिका संयोजक बसन्त जोशीले महात्सवका लागि सम्पूर्ण तयारी पूरा भएको बताए । महोत्सवका लागि आवश्यक भौतिक पूर्वाधार, मञ्च, बाल उद्यान, स्टलहरु लगायत सम्पूर्ण भौतिक संरचना तयार भएको उनले जानकारी दिए ।
महोत्सवको लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले भएका छन् । महोत्सवको उद्घाटन पूर्व घोराहीमा झाँकीसहित शोभायात्रा हुने छ । विहान ११ बजे दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु हुने शोत्रायात्रा लखन पार्क, दामोदर चोक, भानुचोक हँुदै महोत्सव स्थल घोराही उपमहानरपालिका–१४ झिँगौरामा पुग्ने दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरशेकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्वसमा करिव ४०० स्टल रहेका छन् । महोत्सवमा हरेक दिन केन्द्रीय चर्चित कलाकारहरुको प्रस्तुति रहने छ । फागुन १८ गतेसम्म चल्ने महोत्सवमा महोत्सव अवधिभर दुई लाख दर्शकले महोत्सव अवलोकन गर्ने र २० करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ । महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई १०० र विद्यार्थीलाई परिचय पत्रको आधारमा ८० रुपैयाँ टिकट शुल्क तोकिएको छ ।
नेपालमै पहिलो पटक जलपरी
‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा नेपालकै पहिलो पटक जलपरी प्रदर्शन हुने भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा हुने महोत्सवमा नेपालमै पहिलो पटक जलपरी प्रदर्शन रहने आयोजक मूल समितिले जानकारी दिएको छ । जसमा कृत्रिम तालमा जलपरी शैलीमा पौडी खेल्ने र नृत्य गर्ने विशेष कार्यक्रम महोत्सवको प्रमुख आकर्षण हुनेछ । यसैगरी दर्शकले जलपरीसँग फोटो खिच्ने व्यवस्था मिलाइने मूल समिति संयोजक बसन्त जोशीले जानकारी दिए
दाङमा पहिलो पटक अन्डरवाटर फिस टनेल
महोत्सवमा अन्डरवाटर फिस टनेल हुने भएको छ । दाङ जिल्लामै पहिलो पटक अन्डरवाटर फिस टनेल प्रदर्शन हुने आयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघले जानकारी दिएको छ । नेपालमै चौथो पटक र जिल्लामा पहिलो पटक ‘अन्डरवाटर फिस टनेल’ को व्यवस्था मिलाइएको र जहाँ दर्शकहरूले टनेलभित्र गएर विभिन्न प्रकारका माछाहरू नजिकबाट हेर्न सक्नेछन् भने विभिन्न रँग र आकारका समुद्री माछाहरू प्रदर्शन गरिनेछन् ।
प्रदेश स्तरिय दोहोरी प्रतियोगिता
महोत्सवमा लुम्बिनी प्रदेश स्तरिय लोकदोहोरी प्रतियोगिता हुने छ । स्थानीय कलाकारहरुलाई प्रोत्साहण गर्ने र लोक संस्कृतिको संरक्षण गर्ने उद्धेश्यका साथमा लुम्बिनी प्रदेश स्तरिय लोक दोहोरी गीत प्रतियोगिता आयोजना गरिएको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए । जसमा प्रथम हुनेलाई प्रथम हुनेलाई ५१ हजार, द्धितीयलाई नगद ३५ हजार र तृतीयलाई नगद २५ हजार प्रदान एवं सान्त्वनालाई नगद १५ हजार, मेडल र शिल्ड गरिने छ ।
विद्यालय स्तरिय नृत्य र कविता प्रतियोगिता हुने
महोत्सवमा अन्तरविद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता र कविता प्रतियोगिता हुने भएको छ । यस्तै महोत्सवमा खुल्ला लोक नृत्य प्रतियोगिता र जोडी नृत्य प्रतियोगिता हुने छ । जसमा प्रथम द्धितिय र तृतिय हुनेहरुलाई नगद सहित आकर्षक पुरस्कारको व्यवस्था रहेको महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक युवराज पोख्रेलले जानकारी दिए ।
शोत्रायाभामा सहभागितालाई अनुरोध
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भोलिदेखी घोराहीमा सुरु हुने ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को उदेघाटन पूर्व हुने शोभायात्रामा सहभागिताकालागि आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ । विहान ११ बजेदेखी संघको कार्यालयबाट सुरु हुने शोभायात्रामा उपस्थितिकालागि सम्पूर्ण संघसंस्था, टोल विकास संस्था, धार्मिक संघ संगठन, व्यवसायिक संघसंगठन, वस्तुगत समिति लगायत सम्पूर्णमा अनुरोध गरेको छ । शोभायात्रामा सहभागीहरुमध्य उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको शोभायात्रा व्यवस्थापन उपसमितिका संयोजक निमबहादुर बुढाथोकीले जानकारी दिए ।
