इन्द्रेणी संवाददाता
दाङ । दाङ प्रहरीले भारतमा लिएर ३५ हजार भारुमा विक्री भएकी एक किशोरीलाई उद्धार गरेको छ । किशोरीको सकुशल उद्धारसँगै मानव बेचविखनमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मानपुर घर भई घोराही–१५ डिके पेट्रोलपम्प नजिकै डेरा गरी बस्ने राजेश नेपाली र राधा पाण्डेय छन् । त्यस्तै प्रहरीले ती किशोरीलाई किन्ने भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास मौरियालाई पनि नियन्त्रणमा लिएको छ ।

माघ ४ गते राजेश र पाण्डेयले भारतमा कपडा सस्तो पाइन्छ किन्न जाउँ भन्दै फकाइफुल्याई कपिलबस्तुको कृष्णनगर नाकाबाट ती २३ वर्षीय किशोरीलाई भारत पु¥याएका थिए । किशोरी हराएको उनका आफन्तले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय गढवाको प्रहरी टोली किशोरीको खोजीमा लागेको थियो । किशोरीलाई फकाइफुल्याई भारततिर लिएको खुलेपछि राजेश र राधालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । राजेश र राधा श्रीमान/श्रीमती हुन् ।

केही दिनपछि ती किशोरीले आफूलाई विक्री पत्तो पाएपछि किशोरीले नै फोनमार्फत घरमा आफू वेचिएको जानकारी दिएकी थिइन् । त्यसपछि उनलाई भारतीय प्रहरीको सहयोगमा माघ १६ गते उद्धार गरेको इलाका प्रहरी कार्यालय गढवाकी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् । अनुसन्धानकै क्रममा ती किशोरीलाई किन्ने भारतीय व्यक्ति रामनिवास मौरियालाई पनि माघ २६ गते नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सरुवामा भारु ६० हजारबाट बाग्रेनिङ गर्दै अन्तमा भारु ३५ हजारमा किशोरीलाई विक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

आज बिहीबार जिल्ला प्रहरी कार्यालय दाङले मानव तस्करीमा संलग्न तीनै जनालाई सार्वजनिक समेत गरेको छ । उनीहरुले यसअघि पनि यस्ता काम गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले बताए । अहिले उनीहरुलाई मानव बेचविखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको डिएसपी शाहले जानकारी दिए ।