लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुला सिमानाको सहज पहुँचलाई दुरुपयोग गर्दै मानव बेचबिखनका गिरोहहरू सक्रिय रहेको प्रति चिन्ता व्यक्त गरेका छन् ।
नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै, यस समस्याको समाधानका लागि दुई देशबीच विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता मुख्यमन्त्री आचार्यले औंल्याए । सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन नियन्त्रण सम्बन्धी इन्डो-नेपाल क्षेत्रीय संवाद कार्यक्रमको लुम्बिनीमा सोमवार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा शिक्षा, चेतना र रोजगारीको अभावले पनि मानव बेचबिखनको समस्या देखिनु गम्भीर बिषय भएको बताए ।
“लुम्बिनी प्रदेशको भारतसँग लामो सिमाना मात्र होइन, गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ। त्यसैले, कतिपय समस्याहरू हामी छिमेकी मिलेर नै समाधान गर्न सक्छौं। तर मानव बेचबिखन नियन्त्रण तथा सुरक्षित आप्रवासन सुनिश्चित गर्न राष्ट्रस्तरीय नीति आवश्यक पर्छ” मुख्यमन्त्री आचार्यले भने, “दुबै देशले सिमानामा बिशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ ।”
प्रदेश सरकारले सुरक्षित आप्रवासनलाई प्रवर्द्धन गर्दै, अवैध आप्रवासन तथा मानव बेचबिखन रोक्न विभिन्न कार्यक्रम अघि सारेको बताउनु भयो । सचेतना अभियान सञ्चालन, सीपमूलक तालिम, सुरक्षित रोजगारीको प्रवर्द्धन तथा सीमा निगरानीलाई कडाइ गर्न प्रदेश सरकारले पहल गरिरहेको बताउनु भयो ।
मुख्यमन्त्री आचार्यले नेपाल(भारत सीमा क्षेत्रमा सुरक्षा संयन्त्रलाई सशक्त बनाउन र मानव बेचबिखनविरुद्ध दुवै देशले साझा रणनीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।











