उदय बीसी
दाङ । आजदेखि महिलाको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एच.पि.भी.) अभियान शुरु भएको छ । अभियान अन्तर्गत दाङमा ३९ हजार भन्दा बढी किशोरीहरुलाई ह्युमन प्यापिलोमा भाइरस विरुद्धको अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको (एच.पि.भी.) खोप लगाइदैछ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार फागुन ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा जिल्लाका दश पालिकाका ३९ हजार ४५० जना किशोरीलाई खोप दिइने छ ।

अभियानका क्रममा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा ६–१० सम्मका छात्रा र विद्यालय नजाने १०–१४ वर्षसम्मका किशोरीहरुलाई यो खोप लगाइने स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जसका लागि जिल्लाका ३९१ विद्यालयमा ४३५ वटा र वाहिर १३ गरी ४४८ वटा खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन किशोर आचार्यले जानकारी दिएका छन् ।

एक पटक मात्रै लगाइने यो खोप यस वर्ष अभियानका रुपमा सञ्चालन भएको र आगामी वर्षदेखि सरकारले नियमित खोपमा समावेश गर्दैछ । यो वर्ष खोप अभियानमा कक्षा ६–१० सम्मका किशोरी र विद्यालय वाहिर रहेका १०–१४ वर्षसम्मका किशोरीहरुलाई खोप दिइने भएपनि नियमित खोपमा समावेश गरेपछि कक्षा ६ का छात्रा र विद्यालय वाहिरका १० वर्षका किशोरीलाई मात्रै खोप दिइने छ । नेपालमै मधेश प्रदेशपछिको जोखिम प्रदेश लुम्बिनी प्रदेश रहेको र त्यसमा पनि दाङ जिल्ला अत्याधिक जोखिम जिल्ला रहेको छ ।

नेपालमा हेरेक वर्ष दुई हजार १६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने र जसमध्ये एक हजार ३१३ जना महिलाको मृत्यु हुने गर्दछ । यसलाई रोकथाम गर्नका लागि सरकारले यस विरुद्धको खोप अभियान, हरेक महिलाको पाठेघरको मुखको परीक्षण र उपचार पद्धतिलाई सँगसँगै अगाडि बढाएको छ । यो रोग विशेष गरी ह्युमन प्यापिलोमा भाइरसको संक्रमणका कारण हुने गरेको पाइन्छ । एच.पि.भी. खोप लगाएपछि ८० प्रतिशत महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट मुक्त हुने अपेक्षा गरिएको छ ।

देशभर एकै दिन शुरु हुने यस अभियानमा विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिने लक्ष्य स्वस्थ्य मन्त्रालयले राखेको छ ।