दाङ । लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्सवको रुपमा मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाले संयुक्त कार्यक्रमको आयोजना गरेर स्थापना दिवस उत्सवको रुपमा मनाइएको हो ।

प्रदेश सभा परिसर राप्ती उपत्यका (देउखुरी) मा भब्य रुपमा आयोजना गरिएको दिवसको मुल समारोहमा विभिन्न समुदायको झाँकी प्रदर्शन गर्नुका साथै मन्त्रालयत स्टलहरु राखेर सरकारले गरेका कामहरु सार्वजनिक गरिएको छ ।
प्रदेशलाई बलियो र स्थापीत बनाउन संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वयननै आजको आवश्यकता रहेकोमा जोड दिइएको छ । संघीय शासन व्यवस्था लागु भएपनि प्रदेशलाई बलियो बनाउने सवालमा संघीय सरकारले अधिकार प्रत्यायोजन गर्न ढिला गर्न नहुनेमा जोड दिइएको हो । तीन तहको सरकार मध्य प्रदेश संघीयताको बलियो आधार भएको, संघीय शासनलाई बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा वक्ताहरुको जोड छ ।

लुम्बिनी प्रदेश स्थापना दिवसको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले जनता बलियो हुने शासन व्यवस्थानै संघीय शासन व्यवस्था भएको बताउए ।

मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारका बीचमा प्रदेशलाई अब्बल बनाउन सक्नेगरी लुम्बिनी प्रदेशले उदारण दिन सफल भएको बताए ।

‘प्रदेश सरकारको उपादेयता र औचित्य, हाम्रो काम गराई, इमान्दारिता, सुशासन, सेवा प्रवाह एवं स्थायित्व प्राप्त सरकारबाट मात्रै दिन सकिन्छ भन्नेमा हामीमा द्विविधा पक्कै पनि नहोला । प्रदेश सरकार तीन तहका सरकारका बीचमा पनि अव्बल बन्न सक्छ भन्ने उदाहरण हाम्रा धेरै कामहरुले दर्शाएका छन्’ उनले भने, ‘हामीले यस ७ बर्षको अवधिमा प्रदेश सभा र प्रदेश सरकारबाट करिब ११० को संख्यामा कानुनहरु निर्माण गरेका छौं । यसबाट हामीलाई नेपालको संविधानबाट प्राप्त अधिकारको सीमा भित्र रहँदै प्रदेशका काम कारवाही अघि बढाउन, प्रदेश सकारको सञ्चालन र व्यवस्थापनका लागि कानुनी एवं वैधानिक आधार तयार भएको छ ।’