दाङ । मानव कल्याण समाज (सेवा घर) घोराही उपमहानगरपालिका १० मा रहेको नवजात शिशुको न्वारान गरिएको छ । सेवा घरमा रहेकी एक महिलाको कोखबाट जन्मेकी शिशुको हिन्दु धर्म अनुसार न्वारान गरेर नाम राखिएको छ । घोराही क्षेत्रबाट उद्धार गरिएकी एक मानसिक समस्या भएको महिलाको कोखबाट जन्मिएको ४ महिनामा उनको न्वारान गरिएको हो । शिशुको नाम श्रद्धा राखिएको छ ।
४ महिना अगाडी जन्मिएको शिशुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जन्म भएको थियो । स्वास्थ्यमा समस्या आएपछि शिशुलाई एक महिना उपचार गरिएको थियो । शिशुको स्वास्थ्यमा समस्या भएका कारण ४ महिनापछि न्वारान गर्नुपरेको सेवा घरले जानकारी दिएको छ ।
विभिन्न सहयोगी व्यक्तिहरुको सहयोगमा शिशुको न्वारान गरिएको मानव कल्याण समाजका संस्थापक अध्यक्ष सुमी मानवले जानकारी दिइन् । न्वारानका लागि दानबहादुर बुढाथोकी, कृष्ण वली रावत, विनिता गुरुङलगायतले सहयोग गरेका थिए । आमा मिलन केन्द्रले शिशुको लागि नयाँ बस्त्र उपलब्ध गराइएको थियो ।
न्वारान कार्यक्रममा पूर्व सुचना सञ्चार तथा प्रविधि मन्त्री एवं प्रतिनिधि सभा सदस्य रेखा शर्मा लगायतको उपस्थिति रहेको थियो ।











