बुटवल । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई अदालतले एक करोड धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार भएको थुनछेक बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले एक करोड रुपैयाँ धरौटीमा छोडेन आदेश गरेको हो ।
सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर माघ ६ गते रूपन्देही जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो । बुधवार लामिछानेको बयान, विहिवार, शुक्रवार र आइतवार उच्च र जिल्ला सरकारी वकिल कार्यालयका वकिल, जाहेर वालाका वकिल र प्रतिवादीका वकिलको बयान सकिएपछि एक करोड धरौटीमा छोड्ने आदेश आएको हो ।
सहकारीलाई रकम तिर्न प्रयोग भएको लामिछानेद्वारा हस्ताक्षरित चेक, श्रीमती निकिता पौडेललाई भएको भुक्तानी, झुठो विवरणबाट भएको कम्पनीको स्वामित्व हस्तान्तरण लगायतलाई आधार बनाउँदै सहकारी ठगीमा उनको संलग्नता पुष्टि हुने सरकारी वकिलको अभियोग पत्रमा उल्लेख छ ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा ६५ लाख धरौटीमा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख धरौटीमा रिहा भएका थिए ।










