दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयको अवलोकन गरेका छन ।

नेपाल सरकारको निर्णय अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को आंगिक शिक्षालयको रुपमा २०७५ सालमा स्थापना गरेको यो शिक्षालयको प्रचण्डले अवलोकन गरेका हुन ।

माध्यमिक शिक्षा पूरा गरी उच्च शिक्षा लिने युवायुवतीलाई सीपयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यस शिक्षालयमा हाल स्वास्थ्य, इन्जिनियरिङ, बन विज्ञान, बाली विज्ञान र खाद्य प्रविधिमा पठनपाठन हुँदै आएको छ।
शिक्षालयको प्राङ्गणमा रहेको शहीद कृष्णसेनको सालिकमा माल्यार्पण गरेका प्रचण्डले परिवर्तनका बाहक शहीद कृष्णसेनको स्मरण गर्दै शिक्षालयले गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।

शिक्षालयको भौतिक पूर्वाधार निर्माण, ल्याब स्थापनालगायतका विविध पक्षका लागि आफूले बजेट व्यवस्थापनमा सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै प्रचण्डले शैक्षिक सुधारमा लाग्न शिक्षालयलाई सुझाव दिए ।

कार्यक्रममा निमित्त शिक्षालय प्रमुख केशरमान बुढाथोकीले शिक्षालयको समग्र अवस्थाबारे जानकारी गराएका थिए भने कार्यक्रममा सहजीकरण शिक्षालयका स्टोर शाखा प्रमुख नारायण सुवेदीले गरेका थिए ।