अछाम । अछाममा बाख्रा चराउन गोठाला गएका एकै घरका दुई बहिनी जंगलमा मृत भेटिएका छन्। ढकारी गाउँपालिका ८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का मृत भेटिएका हुन् ।

ईश्वरी र सरस्वती शुक्रबार बिहान ११ बजे घरबाट बाख्रा चराउन जंगलतिर गएका थिए। बेलुकासम्म घर नफर्केपछि आफन्तले खोजी गरेका थिए। ईश्वरी र सरस्वतीको शव शनिबार अपराह्नतिर ढकारी गाउँपालिका–१ स्थित सिस्ने ओढारमा भेटिएको थियो । दुई किशोरीको शव अन्दाजी १५–१६ मिटरको दुरीमा भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घटना निकै शंकास्पद देखिएकाले तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिएका छन् । शव भेटिएको स्थानको माथितिर ढुंगैढुंगाको ठुलो भीर छ । दुवै किशोरीको शरीरमा चोटपटकको निसाना देखिएको प्रहरीले जनाएको छ । घटना शंकास्पद भएकाले वास्तविकता अनुसन्धानबाट मात्र खुल्ने प्रहरीले जनाएको छ ।