दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाङमा आर्थिक क्रियाकलाप सकारात्मक रुपमा अघि बढिरहेकाले विकासको संभावना फराकिलो बन्दै गएको बताएका छन् ।
नेपाल उद्योग व्यापार महासङ्घ दाङको आयोजनामा घोराहीमा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । आफ्नै पार्टीको पहलमा प्रादेशिक राजधानी दाङमा बनेको उल्लेख गर्दै आर्थिक क्रियाकलापका हिसाबले दाङ सकारात्मक रुपमा अगाडि बढिरहेको बताए ।
आफूले दाङ जिल्लाको भ्रमणमा विभिन्न सरोकारवालाले गरेको माग र राखेको धारणाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै यी माग कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे । केही राजनीतिक र केही प्राबिधिक कारणले अघि बढ्न नसकेको टरिगाउँ विमानस्थल अघि बढाउन बिस्तारै राजनीतिक सहमति बन्दै जानु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले यसलाई पूर्णता दिन लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै अध्यक्ष प्रचण्डले लामो समयदेखि रोकिएको घोराही(तुलसीपुर चार लेन सडकको पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियामा गएकाले अब यो काम पनि अघि बढ्ने जानकारी दिए । जनयुद्ध कालमा यो सडकमा आफू पनि एकपटक दुर्घटनामा परेको स्मरण गर्दै उनले सडक राम्रो नहुँदा धेरै जनाले ज्यान गुमाउने अवस्था दुःखद भएको बताए ।
तुलसीपुर सुर्खेत, राप्ती लोकमार्ग, सहिदमार्ग, राप्ती स्वास्थ्य प्रतिष्ठान, प्रादेशिक अस्पताल आदिको विकासको लागि आफू र पार्टी गम्भीर रहेको प्रचण्डले बताए











