दाङ । दाङको दंगीशरण गाउँपालिका–२ कौवाघारीका प्रेमलाल कुसारीको रुखबाट खसेर नभई गोली लागेर मृत्यु भएको खुलासा भएको छ। कुसारीलाई गएको बिहीवार जिंगटको रूखबाट खसेर घाइते भएको भन्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको थियो।

घटनाको प्रारम्भमा कुसारीको मृत्यु रूखबाट लडेर भएको भनी प्रहरीलाई जानकारी दिएको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ। छिमेकीको सूचना अनुसार कुसारीलाई गोली हानी हत्या गरिएको हुन सक्ने भनी प्रहरीलाई सूचना भएपछि दाहसंस्कार रोकिएको थियो। प्रहरी तत्काल घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेपछी दाहसंस्कार रोकिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

कुसारीसँगै जंगल गएका साथीहरु फरार रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूसँग सोधपुछ गर्दा शिकार खेल्न गएका बेला बन्दुक आफैँ पड्केर कुसारीको ज्यान गएको भनिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।